सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं | बैशाख २९, २०८१

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं:     उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ ।


परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।


“सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।”


समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताउनुभयो ।


योगध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उहाँ जानकारी गराउनुभयो । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रुपमा योगध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाउनुभयो ।


ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्